गोकुलेश्वर। बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका -७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका- १ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन -७ कैलपालकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनाराको मृत्यु भएको छ ।

यस्तै पाटन नगरपालिका -१ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए ।
उनीहरुलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ ।
दुर्घटनामा परेर अन्य ५ जना घाइते भएका छन् भने घाइते १ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए ।
चालक भने फरार रहेका छन् ।



