गोकुलेश्वर। निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने छ ।
त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ ।

मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको छ। आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी रहेको छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।
१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।



