गोकुलेश्वर । दार्चुलामा यार्सागुम्बा सङ्कलनको लागी अनुमतिपत्र वितरण कार्य सुरु भएको छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालले बैशाख पहिलो साताबाट यार्सागुम्बा तथा जडिबुटी संकलनका लागि अनुमतिपत्र वितरण कार्य सुरु गरेको कार्यालय प्रमुख विनय कुमार झाले जानाकारी दिए । जिल्लास्थित जडिबुटी संकलन व्यवसायी, उद्योग वाणिज्य संघ दार्चुला तथा सुरक्षा निकायका प्रमुखहरुसंको छलफलपछि अनुमतिपत्र वितरण सुरु भएको उनले बताए ।
यार्सागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने भएपनी अनुमतिपत्र वितरण कार्य भने सुरु भएको उनले बताए ।कार्यालयका अनुसार यार्सा संकलन गर्ने जानेहरुको लागि शुल्क समेत निर्धारण गरिएको छ । जसअनुसार अपिनाम्पा संरक्षण क्षेत्रभित्रका स्थानीयको लागि रु ५ सय शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै संरक्षण क्षेत्रबाहिर रहेका जिल्लाभरीका स्थानीयहरुको लागी रु २ हजार र जिल्लावाहिरका स्थानीयको लागि रु ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख झाले बताए । कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुने भएपनी संरक्षण क्षेत्रभित्रका स्थानीयहरु यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उहाँले बताउनुभयो ।यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिइने बताइएको छ ।
कार्यालयले अनुमति विना यार्सा तथा जडिबुटी संकलन नगर्न सूचित गरेको छ ।



