गोकुलेश्वर। एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ देशभरका तुइन हटाउने निर्णय गरे ।उनले कुर्सीमा बस्नासाथ देशभरका ३ सय ८५ वटा तुइन दुई वर्षभित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे ।
पहिलोपटक प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ तुइन विस्थापित गरी पुल निमार्ण गर्ने निर्णयमा हस्ताक्षर गरेको आठ बर्ष बितिसक्दा पनि दार्चुला तुइनमुक्त अझै भएको छैन् । ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए । तर, दार्चुला भने तुइनमुक्त भएन् ।
दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीयका अझै तुइनको प्रयोग गर्छन् । व्याँस गाउँपालिका—२ र ५ का स्थानीय झोलुङ्गे पुल नहुँदा उनीहरुले महाकाली वारपार गर्न तुइनको प्रयोग गर्छन् ।
व्याँस गाउँपालिका—२ दुम्लिङ,बुदी र वडा नम्बर ५ को स्याँकु र धौलाकोटका स्थानीय अझै तुइनमार्फत वारपार गर्छन् ।उनीहरु दैनिक उपभोग्य वस्तुका लागि तुइनमार्फत नै भारतीय बजार जान्छन् ।अहिले पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।
उनीहरको बस्तीबाट झोलुङ्गे पुल टाढा छ । उनीहरुलाई पुल प्रयोग गर्न घण्टौँ हिड्नुपर्छ । झोलुङ्गे पुल निमार्णका लागि सरकारसँग माग गरे पनि कुनै सुनुवाइ नभएको त्यहाँका स्थानीयको दुःखेसो छ । दैनिक उपभोग्य समानको जोहो गर्न त्यहाँका स्थानीय ज्यानको बाजी थापेर महाकाली माथिको तुइनमा झुण्डिछन् । नेपालतर्फ बाटोघाटो छैन् ।
दार्चुलास्थित महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल भएपनि व्याँस गाउँपालिका—२ दुम्लिङ,बुदी र वडा नम्बर ५ को स्याँकु र धौलाकोमा भने अझै झोलुङ्गे पुल बनेका छैनन् । जोखिमपूर्ण तुइनबाटै आवातजावत गर्दा कयौँ मानिसले अकालमै ज्यान गुमाइसकेका छन् ।

यहाँका स्थानीय सधैं मनमा डर बोकेर तुइन प्रयोग गर्न बाध्य छन् । दार्चुला सदरमुकाम खंलगा आवतजावत तथा खाद्यान्न आपूर्ति गर्न पनि तुइनकै सहारा लिनुपरेको छ । नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहोरदोहोर तुइनकै भरमा हुन्छ ।
६४ जनाको काल बन्यो तुइन
जिल्ला प्रहरी कार्यालय दार्चुला र व्याँस गाउँपालिका—२ को तथ्याङ्कअनुसार पछिल्लो ६५ वर्षमा ६४ जनाले तुइनबाट खसेर अकालमै ज्यान गुमाएका छन् । तुइनबाट खसेर ६५ वर्षयता ६४ जना महाकालीमा बिलाएका छन् । तीमध्ये तीन जनाको मात्रै शव फेला परेको छ । ६१ जना अझै बेपत्ताको सूचीमा छन् ।
तुइनबाट खसेर अकालमै ज्यान गुमाउनेमा सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना बेपत्ता छन् । त्यस्तै,व्यास गाउँपालिका–६ का ८, व्यास गाउँपालिका–५ का १९, व्यास–३ का ५ र व्यास–४ का ३ जना छन् । त्यस्तै,नौगाड गाउँपालिकाका १, दोलखाको भीमेश्वर नगरपालिका–६ का १, कैलाली लम्कीका १ र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बिलाएका हुन् ।
व्यास गाउँपालिका–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट सबैभन्दा धेरै १२ जना महाकालीमा बिलाएका छन् । त्यस्तै,व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट ९, व्यास–५ को तिगरमघाट ६ र व्यास–६ को एलागाड तुइनबाट ५ जना महाकालीमा खसेर बिलाएका हुन् ।
त्यस्तै,व्यास–४ को मगडागाउँबाट ४ तथा व्यास–६ को कालागाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन–तीन जना बेपत्ता भएका हुन् । बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एक जना महाकालीमा बिलाएका हुन् ।
पूर्वको जन्म पश्चिमको मरण,राजेन्द्र न्यौपाने कालीमै बिलाए
विश्व खाद्य कार्यक्रम लागू भएको बेला दोलखाको भीमेश्वर–६ का ४२ वर्षीय इन्जिनियर राजेन्द्र न्यौपाने दार्चुला आएका थिए । उनी १३ जेठ २०७६ मा तुइन तर्दा खसेर महाकालीमा बिलाएका थिए ।उनी व्याँस गाउँपालिका—४ को बर्तीघाटस्थित तुइनबाट तत्कालीन सुनसेरा गाविस जाने क्रममा तुइनबाट खसेर महाकाली नदीमा खसेका थिए ।
