गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा प्रतिनिधिसभा सदस्यको चुनाव लड्दा मतदातासमक्ष विभिन्न ‘लोकप्रिय’ वाचा गरेका थिए । एउटा चुनावी भाषणमा उनले भनेका थिए– सय दिनभित्र विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलार्ई स्वदेश फर्काएर यही रोजगारी दिलाउनेछु ।’
नभन्दै उनले आफू निर्वाचित भएको सयौं दिनमा विदेशमा रहेका नेपालीहरुका लागि एक सयवटा रोजगारी सिर्जना गरेको घोषणा गर्दै ‘भ्याकेन्सी अनाउन्समेन्ट’ गरे । सार्वजनिक गरेको विज्ञापनमा ६ वटा समूहमा रोजगारीका लागि आवेदन माग गरिएको छ । झट्ट हेर्दा लाग्नसक्छ– रविले बोलेको कुरा पूरा गरे, वचनका पक्का रहेछन् ।
यहाँ धेरै नेताहरु चुनावमा गरेका भाषण जितेको भोलिपल्टै बिर्सिन्छन् । रविले बिर्सिएका रहेनछन् । यसमा उनलाई धन्यवाद नै दिउँ । तर, के निकालेको यो भ्याकेन्सीले सय युवालाई विदेशबाट स्वदेश फर्काउन सक्ला त ?
अलिकतिमात्रै गहिराइमा गएर विश्लेषण गर्ने हो भने रविको यो कथित भ्याकेन्सी आफ्नो फेस सेभिङ गर्न र जनताको आँखामा छारो हाल्न मञ्चन गरिएको सस्तो स्टन्ट सिवाय केही पनि प्रतित हुँदैन । अरु राजनीतिक दल र नेताहरुलाई गाली गरेर उदाएका, जनतालाई विकास र समृद्धिको सपना देखाएका रविको भिजनशून्यता नराम्ररी उदांगो भएको छ । उनको सोच र चिन्तनको कमजोर स्तर छताछुल्ल भएको छ ।

अरु राजनीतिक दल र नेताहरुलाई गाली गरेर उदाएका, जनतालाई विकास र समृद्धिको सपना देखाएका रविको भिजनशून्यता नराम्ररी उदांगो भएको छ । उनको सोच र चिन्तनको कमजोर स्तर छताछुल्ल भएको छ ।
पहिलो कुरा त यो ‘भ्याकेन्सी’ ले सामान्यतया रोजगारीको विज्ञापनमा अपनाइनुपर्ने न्यूनतम मापदण्ड नै पूरा गरेको छैन । यसमा उल्लेख भएका रोजगारी कुन कार्यालयको निम्ति माग भएका हुन् ? त्यो पदका निम्ति चाहिने शैक्षिक योग्यता र अनुभव कति हो ? यसको वास्तविक रोजगारदाता को हुन् ? यी महत्वपूर्ण प्रश्नहरुको जवाफ रविको सूचनामा छैन । आफैंले रोजगारी सिर्जना गरेको भान पार्नलाई उनले वास्तविक रोजगारदाता नखुलाएका हुन् भन्ने आँकलन गर्न सकिन्छ ।
यथार्थमा यी सय रोजगारी रविद्वारा सिर्जित नभएर संकलित हुन् । न उनले न त उनको पार्टीले नै कुनै उद्योग व्यवसाय गरेका छन् । यदि कुनै नवप्रवर्तनको काम गरेर ८–१० जनालाई मात्र रोजगारी दिएको भए पनि बरु त्यसले सांकेतिक अर्थ राख्थ्यो । तर, अरु संघसंस्थाहरुलाई दबाबमा वा प्रभावमा पारी उनीहरुका नियमित भ्याकेन्सी बटुलेर आफ्नो फेसबुकमा पोस्ट गर्दै विदेशबाट नेपाली फर्काउने कुरा गर्नु जस्तो टिठलाग्दो राजनीति अर्को के हुन्छ ? यसले लामिछानेलाई क्षणिक आत्मरति मिल्नसक्ला, तर जनतालाई केही पनि दिँदैन ।
लेखकको मनमा पैदा भएको जिज्ञासा, रविले यति बेतुकसँग १०० वटा विज्ञापन सार्वजनिक गरेको देख्दा उनकै पार्टीमा रहेका स्वनामधन्य अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र ख्यातिप्राप्त पूर्वबैंकर अनिलकेशरी शाह मनमनै कति हाँसे होलान् ? तर, शक्तिशाली सभापतिलाई सम्झाउने वा उनीमाथि प्रश्न उठाउने ल्याकत उनीहरुले कसरी जुटाउन सक्थे ? यस्ता उटपट्याङ कुरामा प्रश्नोत्तर र बहस गरेर समय खेर फाल्नुभन्दा मौनव्रत बस्दा नै ठीक हुन्छ भन्ने पनि लाग्यो होला उनीहरुलाई ।
यो विज्ञापनको संवेदनशील पाटो अर्को पनि छ । यसले देशभित्रै रहेका बेरोजगार युवायुवतीहरुको अवहेलना गरेको छ । के देशमा रहेका सबै नेपालीहरुलाई रोजगारी पुगिसरी भइसकेर रविले विदेशबाट गुहारेका हुन् ? होइन भने विदेशमा काम गरिरहेकालाई टिकटसमेत काटिदिएर स्वदेश फर्काउन खोज्नुको तात्पर्य के हो ? देशभित्र काम पाउन पनि पहिले विदेशिनुपर्छ भन्ने उपहासपूर्ण सन्देश रविले सञ्चार गरेका छन् । देशभित्रका बेरोजगार युवायुवतीलाई गिज्याएका छन् ।
अरु संघसंस्थाहरुलाई दबाबमा वा प्रभावमा पारी उनीहरुका नियमित भ्याकेन्सी बटुलेर आफ्नो फेसबुकमा पोस्ट गर्दै विदेशबाट नेपाली फर्काउने कुरा गर्नु जस्तो टिठलाग्दो राजनीति अर्को के हुन्छ ? यसले लामिछानेलाई क्षणिक आत्मरति मिल्नसक्ला, तर जनतालाई केही पनि दिँदैन ।



