गोकुलेश्वर।दार्चुलाको दुर्गम पालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकाले अपि बेश क्याम्प भ्रमण सप्ताह २०८० सञ्चालन गर्न लागेको छ ।
गाउँपालिकाको आयोजनामा यही वैशाख १४ गतेदेखि ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्प भ्रमण सप्ताह २०८० सञ्चालनको तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
उनका अनुसार अपिहिमाल पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकहरुको आवागमनका लागि अपि बेश क्याम्प भ्रमण सप्ताहको आयोजना गरिएको हो ।

अपिहिमालमा बहुमुल्य जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक छटाहरु रहेका छन् । आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्यले भ्रमण सप्ताह सञ्चालन गरिएको हो ।
अपिहिमालको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराको भनाई छ । सप्ताहको अवसरमा विभिन्न संरक्षण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छन् ।
पर्यटकीयस्थलहरूको प्रवर्धन र विकास गरी जिल्लाबासीको जीवनस्तरमा सुधार ल्याउनका लागी भ्रमण सप्ताह कार्यक्रम सञ्चालन गरिन लागेको हो ।भ्रमण सप्ताहमा सबैलाई सरीक हुन अध्यक्ष बोहराले आग्रह गरेका छन् ।




