गोकुलेश्वर मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ।आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो।
प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्।

यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्।
यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ।
नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ। प्रतियोगितालाई सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए।
काठमाडौं अडिसन आगामी चैत ४ गते हुनेछ। इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन मार्च १५, २०२३ भित्रै हुने अध्यक्ष राजकर्णिकारले जानकारी दिए। प्रतियोगिताको ग्रान्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेभएकोछ।



