No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको गोकुलेश्वर बजार फोहोरले अस्तव्यस्त,स्थानीय सरकारले व्यवस्थापन गर्नमा चाँसो देखाएन

गोकुलेश्वर। दार्चुलाको सुन्दर गोकुलेश्वर हिजोआज फोहोरै फोहोरको बजार भएको छ । चोक,गल्ली जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ ।

बाटैभरी फोहोर असरल्ल देखिन्छ, फोहोरले सडक आधा ढाकिसक्दा पनि अहँ कसैलाई मतलब छैन् । फोहोरको थुप्रोले जनस्वास्थ्यलाई जोखिममा पार्नुका साथै गोकुलेश्वरको सभ्यताको खिल्ली उडाइरहेको भान हुन्छ ।

घरघरबाट निस्केर फोहोरका थैलामैलाहरू खोलामा मिल्काईन्छ । ढलहरू सिधै चमेलिया नदिमा मिसिन्छन् । प्लास्टिकको आतंक यति छ, कि सडक, नदी किनारा, घर–स्कुल–कार्यालयहरूमा प्लास्टिकजन्य खोलबाहेक अरु केही देखिन्न । अरबपति,लखपति व्यापारीहरूका जंक फुडदेखि हर बोत्तल–खोलहरूले गोकुलेश्वर बजार छोपिएको छ ।

प्लास्टिकको अत्यधिक प्रयोग र जथाभावी विसर्जनका दुष्परिणामबाट हामी कोही सचेत छैनौँ । जिल्लाकैै पवित्र चरणावर्ती मानिने चमेलिया नदी फोहोरको डंगुर बोक्न बाध्य छ। नदीलाई ‘पुज्ने’ देशमा नदीको यो हालत कसरी छ ? नदी ‘ईश्वर हुन् ’ भनेर भन्न हामीलाई लाज लाग्दैन ?

सुन्दर सांस्कृतिक गोकुलेश्वर बजार अचेल फोहरले अस्तव्यस्त छ । फोहोरले कुरुप बन्दै गएको छ । सामान्य नागरिक देखि मै हुँ भन्ने ठुलाबडालाई फोहोरको संस्कृतिले गिज्याइरहेको छ ।

जसरी आफूलाई फोहोर गनाउँछ, हामी सोच्दैनौँ अर्कोलाई पनि उसरी नै गनाउँछ । घरभित्रै व्यवस्थापन गर्न सकिने फोहोर पनि हामीलाई बाटोमा नथुपारी खाएको पच्दै पच्दैन । फोहोर कसले ल्याएर यहाँ फाल्छ भन्ने सबैलाई थाहा छ, यो फोहोर कहिले उठ्छ भन्ने कसैलाई थाहा छैन् । न जनतामा सडकमा फोहोर फाल्नु हुन्न भन्ने चेतना छ, न नगरपालिकालाई जनताले भोग्नु परेको सास्तीबारे मतलब छ ।’ फोहोर नै विस्तरा, फोहोर नै डसना जस्तै छ ।

गोकुलेश्वर बजार दुर्गन्धित हुने अवस्था आउँदा पनि शैल्यशिखर नगरपालिकाले वैकिल्पक व्यवस्था गर्न नसक्नु लाजमर्दो भएको छ । नगपालिकाले केही महिना अगाडी एक दिन मात्रै फोहोर उठाएको जस्तो गरेर सबैको आँखामा छारो हाल्यो । अर्को दिनदेखी नगरपालिका गायब भयो ।

pm office

नगरपालिकाका मेयर विजयसिंह धामीले निर्वाचित भएको करिब १ महिनामै फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिन्छौं भनेका थिए । करिब ८ महिना बितिसक्दा समेत उनको त्यो योजना अलपत्र छ । स्वच्छ सफा र सुन्दर नगरपालिका बनाउने उद्येश्य बोलिमै सिमित,फोहोर व्यवस्थापन गर्न डम्पिङ क्षेत्रको समेत अहिले सम्म टुंगो लागेको छैन् ।

विगत ३ वर्ष देखि नगरपालिकाको फोहोर व्यवस्थापन अस्तव्यस्त रहेको छ । विगतको स्थानिय सरकारले निर्वाचित भएको २ वर्षसम्म वडानम्बर ९ को नक्तडमा डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन गर्ने गरेकोमा पछिल्लो समय स्थानियहरुले विरोध गरेपछि नगरको फोहोर अस्तव्यस्त बनेको थियो ।

यहाँ मेयर, अध्यक्ष, सदस्यजस्ता टाउकेहरूको कमी छैन् । तर, फोहोरको जिम्मा मेयरको मात्र होइन नि । मेयरको पहिलो कर्तव्य हो तर उसलाई सघाउनु सबैको दायित्व मात्र होइन, कर्तव्य पनि हो । मेयरले पनि आफ्नो स्पष्ट योजना, भोगेको समस्याबारे सबैलाई स्पष्ट पार्नुपर्ने अनिवार्य छ ।

फोहोर ब्यबस्थापनमा स्थानिय बासिन्दा देखि स्थानिय सरकार सबैको चासो र सरोकार हुनुपर्छ । जथाभावी पिच्चपिच्च थुक्ने, खकार्ने, मुत्ने, हग्ने, फोहोर खसाल्नेले अनि उहाँहरु नै विदेशमा यस्तो उस्तो भयङ्कर राम्रो सिस्टम हुन्छ भनेर गफ दिइरहेका छन् । अनि उहाँनै भन्छन् – सबले फोहोर फालेका छन्, तँ—म एकजनाले फोहोर नफालेर सहर कसरी सफा हुन्छ ?

बजारमा ठूलाठूला घर,पशल बनाउन सक्नेले त्यहीँ केही फोहोर व्यवस्थापन गर्न सकिने उपाय सोच्न सकेको छैन् । महँगा गाडी चढ्नेले झ्याल खोलेर फ्याँकेको मिनरल वाटरका बोतल लगायत अन्य बजारमा पाईने खानेकुराका प्याकेटहरु सडकमै सानदारसात फाल्छन् ।

फोहोरले हुने जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण र तिनले सिर्जना गर्ने रोगहरूको पीडाबारे हामी कहिले बुझ्छौँ ? फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे घरघरमा छलफल हुनुपर्छ । मेयरदेखी सबैले आफ्नो क्षेत्रे सफाइबारे चिन्ता लिनुपर्छ । चिन्ता मात्र होइन जिम्मा लिनुपर्छ । हैन भने राजीनामा दिनुपर्छ ।

प्रतिनिधि र कर्मचारीहरूले काम गरेनन्, भने यहाँका नागरिकदेखि सरकारबाहिरका दलसम्मले सचेतना–विरोधका कार्यक्रम गर्नुपर्छ । नागरिक चुप बस्ने भएर पनि शासकहरू मैमत्त भएका हुन् । उनीहरूलाई हामीले जे गरे पनि नागरिकले सहिदिन्छन् भन्ने बानी परेको छ ।

फोहोर यसरी थुप्रिँदा पनि चुप बस्ने हामी नागरिक, कस्ता नागरिक ? घरमै चर्पी अनिवार्य भए जसरी फोहोर व्यवस्थापनका उपायहरू अनिवार्य बनाउनुपर्छ । तत्कालका लागि फोहोर उठ्नुपर्छ । फोहोरमा फोहोरी राजनीति गरिरहेका पदीय ढ्याकेहरूको अनुहार स्पष्ट चिन्नु र चिनाउनुपर्छ । फोहोर उठ्न नदिने दलका कार्यालय र ती नेताका घरघरमा फोहोरका पोलिथिन उपहार लिएर जान पनि ढिला गर्नुहुँदैन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.