गोकुलेश्वर । वर्षायाम सुरु भएसँगै सर्पदंश (सर्पको टोकाइ) का बिरामी बढ्ने गर्दछन् । गर्मी बढेपछि सर्प बाहिर निस्कने गर्छन् । प्राकृतिक प्रकोप पश्चात् प्राकृतिक वासस्थान नष्ट हुने भएकाले उनीहरू मानिसको वासस्थान तिर बढि छिर्ने गर्छन् । सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र बढी प्रभावित छ ।
विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने कारण पनि विभिन्न लक्षण देखिन्छन । आत्तिँदा हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेको महसुस हुने, हात खुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने आदि हुन्छ । कतिपयमा टोकेको ठाउँवरपर सुन्निने हुन सक्छ । रक्तश्राव, नीलो हुने वा फोका उठ्ने, संक्रमण वा नेक्रोसिस हुने गर्छ । त्यस्तै, बिषालु सर्पले टोकेमा बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वादमा भिन्नता आउने, घाँटी भाँचिने, नाडी छिटो–छिटो चल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।

(क) सर्पले टोकेमा के गर्ने ?
१– बिरामी आत्तिएर अन्य समस्या देखिन सक्छन् । तसर्थ, बिरामीलाई शान्त पार्नुपर्छ । सबै सर्प बिषालु हुँदैनन् भनेर बुझाउनुपर्छ ।
२– बिरामीलाई सजिलोगरी भुइँमा सुताएर लुगा खुकुलो बनाउनुपर्छ । टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउन सकिन्छ । घाउ बढी चलाउनुहुँदैन । चलाएमा विष मांसपेशीमार्फत रगतमा मिसिन सक्ने भएकाले सजग हुनुपर्छ ।
३ – टोकेको सर्पलाई मार्नतर्फ लाग्नुहुँदैन । मार्न थाल्दा अन्य दुर्घटना निम्तिन सक्छ । घाउमा कुनै पनि औषधि वा रसायनको प्रयोग गर्नुहुँदैन ।
४– सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले अरूको साथ जान आवश्यक हुन्छ ।
(ख) टोकाइबाट कसरी बच्ने ?
१ – घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाएर नराख्ने, ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुने ।
२ – खुला ठाउँ तथा भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने गर्नुपर्छ । त्यस्तै, खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउनुपर्छ ।
३ – राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ ।
४– सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ । त्यस्तै, बिषालु सर्पको टोकाइबाट हुन सक्ने समस्याबारे जानकारी दिनुपर्छ ।
