No.1 News Portal from Sudurpashchim Province
bajaj

गणेशमान सिंहकाे त्याे प्रण

गोकुलेश्वर। आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवस हो । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो ।

तत्कालीन सरकारले उनको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तात्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन ।

यो घोषणा नै पहिलो थियो । जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उनलाई लौहपुरुषको उपाधि दिइएको थियो ।

जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गरेका थिए । सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाण्डौको यट्खामा भएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई लौहपुरुष र त्यागी नेताका रूपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानव अधिकारका पक्षमा लडे ।

उनले कहीँ कसैसँग सम्झौता गरेनन् । आजीवन कारावास सजाय भोगिरहँदा सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी मागेनन् बरु जेल तोडेर भागे ।

प्रजातन्त्रको लडाइँमा सिङ्गो जीवन अर्पण गरेका सिंहले २०४६ सालको आन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुनासमेत बने । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गरे । पराजित भएपछि फेरि कहिल्यै उम्मेदवारी दिएनन्।

नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर, काठमाण्डौको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउन राजनीतिमा होमिएका थिए।

उनी तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक थिए । भारतमा अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ ।

२००७ सालको क्रान्तिको एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए। सङ्घर्षका हिसाबले वीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सधैँ क्रियाशील रहे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर कारावास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा वीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिइ स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

pm office

२०१५ मा सम्पन्न देशको पहिलो संसदीय चुनावमा काठमाण्डौ क्षेत्र नं १ बाट विजयी हुनुभएका सिंह त्यसपछि कहिल्यै चुनावमा उठ्नुभएन । त्यो चुनावमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठलाई झिनो मत अन्तरमा हराएर उनी विजयी भए । त्यही बेलादेखि उनले फेरि कुनै पनि चुनावमा प्रतिस्पर्धा नगर्ने प्रतिज्ञा गरेका थिए।

त्यो चुनावमा नेपाली कांग्रेसले कुल एक सय नौमध्ये ७४ सिटका साथ दुई तिहाइको जित हासिल गरेको थियो । वीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री भए । तिनै ताकाको कुरा हो, नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुनसहित बधाई दिन चाक्सीवारीमा रहेको उनको निवासमै पुगेका थिए ।

बधाई दिन जाने टोलीका एक सदस्य थिए, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले यसरी सुनाए

‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसँग ज्यादै नजिकको सम्बन्ध भएको नाताले हामी पन्ध्ररसोह्र जना साथीहरू सगुन दिन भनेर उनको चाक्सिवारीमा रहेको घरमै गएका थियौँ । त्यही बेला उनले भनेका थिए – ह्या, तपाईँहरू पनि केको बधाई र सगुनको कुरा गर्नुहुन्छ । मैले जितेको भनेर तपाईँहरूले यो सगुन दिन ल्याउनुभएको होला । प्राविधिक रूपमा जितेको भए पनि वास्तवमा म त हारेको व्यक्ति हुँ । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मतमात्र पाए । म आफूलाई जितेको भनुँ कि हारेको । प्रक्रियागत रूपमा जिते पनि वास्तविक रूपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाण्डौवासीलाई नराम्रोसँग गाली गरे ।

उनको भनाइ थियो, ‘यी दास भइरहेका उपत्यकावासीलाई उद्धार गर्नुपर्छ भनेर मैले ज्यानको बाजी लगाए । कहिल्यै चैनसँग बस्न पाइन । राणा शासन फाल्न ज्यानको बाजी लगाएँ । राणाहरूले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचेँ । मेरो त्यो त्याग काठमाण्डौवासीले चिनेको यही हो । मेरो भोट चाँहि मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौँ मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासताबाट मुक्त गरेर मानिस बनाउन मैले लडेँ, उनीहरूले नै मेरो मूल्याङ्कन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जितेपछि मेरो हाई–हाई । लड्दा बाई–बाई । यो स्थिति भएकाले मैले जितेको होइन ।’

त्यही बेला गणेशमानजीले भनेका थिए, ‘हेर्नुस्, म आइन्दा कुनै चुनाव पनि लड्दिनँ र कुनै सरकारी पदमा पनि जान्नँ’, कायस्थले सम्झिनुभयो, ‘त्यसै बेला उनले प्रण गरेका थिए ।

त्यसपछि गणेशमानजीसँग पटक–पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने वातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरिरहेको थियो । राजा महेन्द्रले २०१७ पुस १ गते संसदीय प्रजातन्त्रमाथि ुकुु गरे । वीपीसँगै गणेशमानजीलाई आठ वर्ष सुन्दरीजल बन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उनी भारत प्रवासमा रहे। प्रजातन्त्र बहालीका लागि सङ्घर्ष गरे । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्‍यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उनले अस्वीकार गरिदिए।

प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले हातैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । उनले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे ।गणेशमानले २०१५ पछि पार्टीको कुनै पदमा चुनाव लड्नुभएन र २०४८ र २०५१ को आम चुनावमा समेत उम्मेदवार नै भएनन् ।

पछि २०४६ सालमा राजाले तपाईँ नै प्रधानमन्त्री भएर चलाउनुपर्‍यो भनेर प्रस्ताव गर्दा पनि उनले मान्नुभएन । नेपाली कांग्रेसले त भन्ने नै भए । कम्युनिस्टहरूले पनि भनेका थिए– गणेशमानजी अब तपाई नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपाईँले देशको प्रधानमन्त्री भएर जानुपर्छ ।

गणेशमानलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गरे । मनमोहन अधिकारीले समर्थन गरे । यसरी उनी सर्वमान्य नेता भएका हुन ।

यसरी राजा, कांग्रेस र कम्युनिस्टले समेत तपाईँ प्रधानमन्त्री भइदिनु पर्‍यो भन्दा समेत नाइँ मेरो स्वास्थ्यले साथ दिँदैन भनेर अस्वीकार गरे र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । गणेशमानले प्रधानमन्त्री पद छाड्ने निर्णय तत्काल गरेका होइन, त्यो प्रण उनले २०१६ सालमै गरि सकेका थिए । -साभार उज्यालो

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.