गोकुलेश्वर। सरकारले ६ वर्षमा १ सय ३० वटा तुइन विस्थापित भएको जनाएको छ ।
सरकारले २०७२ सालमा तुइन विस्थापित गर्ने नीति लिएपछि गरिएको तथ्याङ्क सङ्कलनमा देशभरका १ सय ४३ ठाउँमा तुइन रहेकोमा अहिलेसम्म १ सय ३० वटा विस्थापित भएको स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको तथ्याङ्क छ ।
पहिचान भएका सबै ठाउँमा एकैपटक निर्माणको काम थालनी भएको थियो । तर महाकालीमा ४ र कर्णाली तथा कालीगण्डकीमा ८ गरी १२ वटा तुइनको काम बाँकी छ ।
सुदूरपश्चिमको महाकालीमा भारतसँग सीमा भएर बग्ने महाकाली नदीमा पुल बनाउन भारतसँग सहकार्य गर्नुपर्ने बाध्यता, लठ्ठा पनि भारतबाटै किन्नुपर्ने बाध्यता, कोरोनाले उत्पादन नभएको र कोरोना सङ्क्रमण जोखिमपछि भारततर्फ कामदारलाई काम गर्न नदिएको कारण ढिलासुस्ती भएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक एवं सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख अशोककुमार साहले बताए।

उनका अनुसार पञ्चेश्वरघाटमा भने भारतले सहमति नदिएपछि निर्माणको काम नै थालनी हुन सकेन । पञ्चेश्वरमा अब पुल नबन्ने उनले जानकारी दिए। ‘सुरुमा मौखिक सहमतिका आधारमा सबैतिर काम थालनी भयो, उनले भने ‘निर्माणका लागि टेन्डर पनि भयो तर पछि भारतले रोक्यो । भारतसँग सीमा जोडिएका ठाउँमा दुईतर्फी ठाउँ उपलब्ध गराउन नसक्दा टेन्डर रद्ध गर्नुपर्यो ।’
पहिलो ठेक्का रद्ध गरेर फेरि प्रकृयामा जाँदा ढिलासुस्ती भएको योजना प्रमुख साहको भनाइ छ । अहिले भारत सरकारले लिखित सहमति दिएपछि काम भइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल असोजमा कार्यभार सम्हाले लगत्तै दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यसपछि आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रममा सरकारको प्रतिबद्धता पूरा भएको घोषणा गरिएको थियो । तर कतिपय नागरिक तुइनकै सहारामा जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
महाकालीका ४ वटा पुल आउँदो मंसिरसम्म काम भइसक्ने उनको दाबी छ । महाकालीका चारमध्ये दुईवटा बडुगाउँ र बाँकुको काम ९०र९० प्रतिशत सकिएको छ भने माल र बरती झोलुङ्गे पुलको काम ३०र३० प्रतिशत भएको योजना प्रमुख साहले बताए। ‘अहिले बर्खामा महाकालीमा पानी सतह बढी भएकाले काम गर्न सकिँदैन, उनले भने ‘भदौपछि काम पुनः काम थालेर मंसिरसम्म सक्छौँ, अब चाहिँ ढिला हुँदैन ।’
तुइन विस्थापन गर्ने गरी पुल बनाउन २०७६ सालमा ठेक्का लागेको दार्चुलाको मालमा अहिलेसम्म पुल बनेको छैन । तुइनबाट महाकाली पार गर्नेक्रममा खसेर शुक्रवार दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए।
व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले देखेपछि तुइन काटिदिदाँ बेपत्ता भएका धामी अझै फेला परेका छैनन् ।



