काठमाण्डौमा प्रहरीले ‘अपरेशन सेफ्टी’ सञ्चालन गरेको छ । त्यसक्रममा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।
यस्तै काठमाण्डौको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रका सुजन कार्की, स्युचाटार क्षेत्रका सरू हुमागाईं, बौद्ध क्षेत्रबाट बिकी लामालगायत पक्राउ परेका भट्टराईले बताउनुभयो ।
यस्तै, त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि पक्राउ परेका छन् । विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने गरेको आरोपमा उनीहरू पक्राउ परेका प्रवक्ता भट्टराईले बताउनुभयो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।



