
गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ स्थित मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँको ६४ औँ वार्षिकोत्सब कार्यक्रम उद्घाटन भएको छ । सोमबार (आज) एक कार्यक्रमका बिच विद्यालयको ६४ औँ वार्षिकोत्सब समारोह उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनन्दन नाथ सभापति तथा लेकम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरि बहादुर साउँद प्रमुख अतिथि रहेको वार्षिकोत्सब समारोहमा विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले विद्यालयको बार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । उहाँका अनुसार विद्यालयका आर्थिक बर्ष २०८०।०८१ को कुल आय ७९ लाख ४३ हजार ६३७ रुपैया रहेको छ। त्यस्तै कुल व्यय ७६ लाख ६६ हजार ७५८ रुपैया र विद्यालय संघ हाल मौज्दात ८ लाख ८२ हजार ६१५ रुपैया रहेको छ ।
वार्षिकोत्सव समारोहमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ र गणित दौड प्रतियोगिता सञ्चालन गरिएको थियोे । आज सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा बालिचन आधारभुत विद्यालय तिउनेगाउँ प्रथम र मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ द्धितीय भएको छ। त्यस्तै आजै सम्पन्न गणित दौड प्रतियोगितामा मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँ प्रथम र बालिचन आधारभुत विद्यालय तिउनेगाउँ द्धितीय भएको छ ।
विविध कार्यक्रम सहित ६४ औँ वार्षिकोत्सब समारोह भोलि सम्पन्न हुने बताइएको छ ।



