No.1 News Portal from Sudurpashchim Province
bajaj

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो बाटो भत्कियो,ज्यादती रोक्न भारतलाई पत्र

गोकुलेश्वर। महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताए । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको उनले बताए ।

प्रजिअ जोशीले भारतको धारचुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण नदी पसेर बाटो अवरुद्ध भएको विवरण गृह मन्त्रालयमा दिइएको जनाए ।

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट पत्राचारमार्फत जानकारीमा आएको बताए ।

pm office

यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतको ध्यानाकर्षण गराइने उनले बताए । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।

त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाएका हुन् । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको उनले जानकारी दिए ।

भारतले सडक विस्तारका क्रममा महाकालीपारि गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराएको थियो । यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान गरिरहेको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन । मंगलबारको विस्फोटबाट खसेको चट्टान महाकाली नदीमा खसेर बहाव रोकिनुका साथै त्यसकै असरले वारिपट्टि नेपालको बाटो भत्केको छ ।

बाटोमा नदी पसेपछि मानिसको आवागमन नरोकियोस् भनेर दुम्लिङस्थित सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीबाट जनशक्ति खटाएर वैकल्पिक गोरेटो खुलाइएको छ । जुन बाटो अहिलेको भन्दा २ घण्टा बढी समय लगाएर पार गर्नुपर्छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सशस्त्रका संरचना जहाँ–जहाँ छन्, त्यस क्षेत्रमा बाटो–घाटो, पुलपुलेसा भत्किँदा सामाजिक दायित्व र सरकारका आदेश, निर्देशनअनुसार अवरोध खुलाइँदै आएको बताए ।

निर्माणाधीन भारतीय सडक नदीबाट ५/६ सय मिटर उचाइमा छ तर नेपालतर्फको गोरेटो करिब २० मिटर र कतै नदी किनारैकिनारमा पर्छ । दुम्लिङस्थित सशस्त्रको बीओपी र नेपाल प्रहरीको चौकी छ । बाटो अवरुद्ध भएको ठाउँ बीओपीबाट करिब २ सय मिटर उत्तरतर्फ पर्छ ।

महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरेर भारतीय पक्षले पटक–पटक गैरकानुनी र एकतर्फी संरचना बनाउने गरेको भन्दै प्रजिअ अधिकारीले आपत्ति जनाए । ‘२०७२ सालमा बाढी आउँदा महाकालीको धार परिवर्तन भएर नेपालतर्फ सोझियो, त्यसको मौका छोपेर एकतर्फी रूपमा पछिल्लोपटक करिब डेढ सय मिटरमा नेपाली भूमिसमेत समेटेर बाँध बनाइएको छ, त्यसले अब नदीमा बाढी आउँदा पनि धार नेपालतर्फ सोझिन्छ,’ उनले भने, ‘यस विषयमा गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको हो, पिथौरागढ प्रशासनलाई पठाएको पत्रको त जवाफ नै आएन । गत वर्ष घाँटीबगर क्षेत्रमा नेपालतर्फ घोडेटो बनाउँदा पनि भारतीयले अवरोध गरे ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.