दुहुँ गाउँपालिकामा कोभिडविरुद्ध बस्तीस्तरीय अभियान : घरघरमै पुग्छन् स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी
गोकुलेश्वर। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध दुहुँ गाउँपालिकाले बस्तीस्तरीय अभियान शुरु गरेको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त टोलीले बस्तीबस्ती तथा घरदैलोमै पुगेर कोरोना संक्रमणबाट जोगिन जनचेतना, आहारविहार, परामर्श र स्वास्थ्य सेवा दिन अभियान संचालन गरेको छ ।

रुघाखोकी, ज्वरोका बिरामीहरुलाई बस्तीस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा कोभिडबारे जनचेतना र परामर्श दिन बस्तीस्तरीय अभियान संचालन गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बस्तीस्तरीय अभियान थालनी गरेका छौँ, ज्यानभन्दा ठूलो केही छैन्, आफू बचौँ र अरूलाई पनि बाँच्न दिऔँँ भन्ने हाम्रो लक्ष्य र चाहना हो ।’
कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन यहाँका समुदायमा खटिएको स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारीको टोलीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्नुका साथै स्वास्थ्य समस्या भएकालाई औषधी समेत वितरण गर्न थालेको छ ।
शुक्रवारदेखि पालिकाका ५ वटै वडामा अभियान संचालन गरिएको छ । अभियानको शुरुको दिन घरदैलोमै पुगेर ८८ जनाको स्वास्थ्य चेकजाँच तथा औषधी वितरण गरिएको जनाइएको छ ।



