दार्चुला। जिल्लामा गौरा भित्र्याइने र विसर्जन गरिने गौराघर, मठमन्दिर आँगनसम्मै चिटिक्क पारेर सजाइएका छन् । दमाहा,भोक्कर, नरसिंहजस्ता बाजा बज्न थालिसकेका छन् ।
गाउँघरमा मात्र नभइ, यहाँका मुख्य बजार जिल्ला सरमुकाम खलंगा,गोकुलेश्वर,लेकमको रिठाचौपाता, मार्माको लटिनाथ, तथा जिल्लाका अन्य साना बजारहरुमा पनि गौराका लागि कपडा लगायत अन्य समान किनमेल गर्नेको घुइँचो छ । व्यापारीलाई समान बेच्न भ्याइनभ्याइ छ ।
प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन रोजगारीका लागि भारत,तथा मुलुककै विभिन्न जिल्लामा रहेकाहरू धमाधम आफ्नो थलो फर्किरहेका छन् । प्रदेशकै कैलाली कञ्चनपुरबाट पनि दार्चुला फर्कनेको लाम छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले व्रत बसी घरघरमा तामाको भाँडामा बिरुडा ( केराउ, गहत, गहुँ, मास र गुरौस ) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहेकाले यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।
त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन रहिआएको छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमारी, ढुस्को,फाग, ठाडो खेल लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।
देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा व्यङ्ग्य गरिन्छ । प्रदेश नं ७ अर्थात साविकको सुदूरपश्चिमभर गौरा पर्व प्रमुख सांस्कृतिक मुख्य पर्वका रुपमा गौरा मनाइन्छ । कतिपय स्थानमा सातादेखि १० दिनसम्मै पर्व मनाउने गरिन्छ ।
सुदूरपश्चिममा यो पर्व नारीहरुले मनाउँछन् । यहाँ तीजलाई भन्दा गौरा पर्वलाई धूमधामसाथ मनाउँछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यहाँ गौरा पर्व मनाउन शुरु गरिएको यहाँका संस्कृतिविद् बताउछन् ।



