गोकुलेश्वर। दार्चुलाका आठ वटा स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा मेरी स्टोपस नेपालको सहयोग एवंम स्थानीय तहहरुको समन्वयमा मंसिर १४ गते देखि मंसिर २३ गतेसम्म जिल्लाका आठ वटा स्थानीय तहमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ ।

मंसिर १४ गते अपि हिमाल गाउँपालिकाको सौगन्ना सामुदायिक स्वास्थ्य इकाईमा ,१५ गते मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा,१७ गते नौगाड गाउँपालिकाको भवन होपरीगाडमा र १८ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालमा शिविर सञ्चालन गरिने छ ।
यस्तै १९ गते मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकी, २१ गते व्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकी, २२ गते दुहुँ गाउँपालिकाको हिकिला स्वास्थ्य चौकी र २३ गते महाकाली नगरपालिको जिल्ला अस्पताल दार्चुलामा शिविर सञ्चालन हुने छ ।
महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।



