गोकुलेश्वर। नेपाली कांग्रेसका सांसद एवं पुर्व सुचना तथा संचार राज्यमन्त्री दिलेन्द्र प्रसाद बडुले दार्चुलामा महाकाली नदीमाथि बन्न लागेको ४ पुलको ठेक्का एमाले कार्यकर्ताले लिएका कारण अलपत्र भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै दार्चुलाका सांसद समेत रहेका बडुले महाकाली माथि तत्काल पुल बनाउन माग गरे । उनले महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामीको भारतीय सुरक्षाबलले तुइन काटेका कारण वेपत्ता भएको भन्दै सरकारले कुटनीतिक तरिकाबाट छिटो भन्दा छिटो दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

उनले २०७२ साल असोज २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ बर्षभित्र सबै तुइन् बिस्तापित हुने प्रतिबद्धता जनाएको उल्लेख गरे । हालैपनि पूर्व प्रधानमन्त्री ओलीले अब कुनै नेपालीले तुइन तर्नु पर्दैन, कुनै नेपाली मर्नु पर्दैन भनेर भाषण गरेको स्मरण गराए । सांसद बडुले भने–‘उनले यो पनि भनेका थिए कि कहीँ तुइन बाँकी छ भने फोटो खिचेर ल्याउनुहोला र सिंहदरबार पु¥याउनुहोला ।
दार्चुलाको यो तुइनको फोटो अझै बाँकी छ ।’ उनले महाकाली नदीमा ४ वटा तुइन बिस्तापित गर्न झोलुङ्गे पुल बनाउँने ठेक्का एमाले कार्यकर्तालाई दिएका कारण अहिलेसम्म निर्माण अघि बढ्न नसकेको उल्लेख गरे । ति पार्टीका कार्यकर्ता पेश्की रकम लिएर पनि कहाँ गायव भए पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने–‘झोलुङ्गे पुल बनाउँने ठेक्का लिएर बेपत्ता भएका को को हुन् सार्वजनिक हुनुपर्छ ।
कम्तिमा ति ४ ठाउँमा छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न गर्नुपर्छ ।’ उनले कालापानी तिङ्कर सडकका लागि नेकपाको सरकार आउनुअघि नै विशेष रणनीतिका साथ बजेट विनियोजन भएपनि पछि ४ जिल्लालाई छुनेगरी महाकाली करिडोरका नाममा बजेट राखेपछि प्रभावकारी काम हुन नसकेको उल्लेख गरे ।



