शैल्यशिखर नगरपालिकामा बेरुजूको चाङ,सुदूरपश्चिमकै पहिलो स्थानमा उक्लियो
यति ठूलो मात्रामा बेरुजु देखिनु संघीय गणतन्त्रको दुरुपयोग
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका सुदूरपश्चिम प्रदशकै सबैभन्दा बढी बेरुजु देखिने स्थानीय तहमा परेको छ ।
महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन २०७९ अनुसार शैल्यशिखर नगरपालिका प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आउने स्थानीय तहमा परेको हो ।
कुल १ अर्ब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण गरिएकोमा १६ करोड ३६ लाख ३ हजार अर्थात औसतमा ११.९१ प्रतिशत बेरुजु आएको महालेखाले २०७९ चैत ३० गते बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षणबाट एक वर्षमा शैल्यशिखरमा औँल्याइएको बेरुजु रु १६ करोड ३६ लाख ३ हजार रहेको छ ।
योजनाको आवश्यकता भन्दा पनि कार्यकर्ता पाल्ने उद्देश्यले बजेट विनियोजित गर्दा,जथाभावी सडक खन्ने, कार्यालय प्रक्रियाभन्दा बाहिर गएर काम गर्ने तथा काम थोरै गरे पनि विनियोजित बजेट पुरै भुक्तानी गर्न जनप्रतिनिधिले दबाब दिँदा बेरुजु आएको हो ।

यतिमात्र नभएर नगरपालिकामा अनावस्यक रुपमा कर्मचारी भर्ना गरि मार्सिक तलब खुवाउँदा,अनावश्यक तलबी सल्लाहकार तथा सहायक नियुक्ति गर्ने परिपाटी पनि व्यापक छ ।
कार्यकर्ताहरूलाई उपभोक्ता समितिमा राख्ने, उनीहरूबाट कमिसन माग्ने नेता कर्मचारीबाट बेरुजु असुल गराउने परिपाटी नहुँदासम्म यस्तो प्रवृत्ति यथावत् रहन्छ । यति ठूलो मात्रामा बेरुजु देखिनु संघीय गणतन्त्रको दुरुपयोग हो ।
नगरपालिकाले आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको,राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको हुनाले सो रकम बेरुजु आएकोे हो ।
आर्थिक कार्यविधि ऐन २०५५ अनुसार प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको सो रकम बेरुजु हो ।
बेरुजू आर्थिक सुशासनलाई कमजोर बनाउनुका साथै आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो ।तर, बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिँदैन । यसलाई जतिसक्दो चाँडोे नियमितता गरिनुपर्दछ ।
