गोकुलेश्वर । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुविरुद्धको कारबाहीलाई अझ कडा बनाएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाले इप्रका गोकुलेलाई गत कार्तीकमा दुइ थान ब्रेथलाईजर मेसिन खरिद गरि हस्तान्तरण गरेपछि इप्रका गोकुलेको टोली र अस्थायी ट्राफिक पोस्ट गोकुलेश्वरको टोलीले नियमित रुपमा मापासे चेक गरिरहेको छ ।
यसै बिच मंसिर महिना र पुस महिनामा मात्रै २२ वटा सवारी चालकलाई कारवाही गरेको इप्रका गोकुलेका इन्चार्ज एवम् प्रहरी निरीक्षक निरज सिह भाटले बताए ।

‘मापसे गरेर सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेका हौ ।’ उनले भने,’ हामी नियमित रुपमा गोकुलेश्वर बजार क्षेत्र एवम् हाम्रो एरीया क्षेत्रभित्र चेकजाच गरिरहेका छौ । मापसे गरेर सवारी चलाउनेसँग लाइसेन्स नभए चालक र सवारीलाई नियन्त्रणमा लिन्छौ । स्वास्थ्य परीक्षण गरी भोलिपल्ट हाजिर गराउने शर्तमा लिखित कागज गरेर अभिभावकको जिम्मा लगाइनेछ । र, भोलिपल्ट उपस्थित गराएपछि कारबाही प्रक्रिया अघि बढाउछौ ।’
‘मापसे गरि सवारी चलाउँदा आफू त जोखिममा पर्छन् नै उनीहरूका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ”, ‘इन्सपेक्टर भाटले भने, “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश सबै माझ पुगे पनि यो क्रम रोकिएको छैन ।’
आफू सवार सवारी साधनका चालकले मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालयमा खबर गर्न प्रहरी निरीक्षक भाटले सबैमा अनुरोध समेत गरेका छन ।मापसे गरि सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्छ ।
सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न ,दुर्घटना न्यूनिकरणका र मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न नियमित रुपमा चेकजाच गरिरहेको उनले बताए ।



